मान्छेहरु अपमानित महसुस गर्न मन पराउँछन्
प्राय मान्छेहरु अरुले राखेको पोस्टलाई अधकल्चो तरीकाले पढ्छन र राम्ररी बुझ्दै नबुझी ठूलो इमोसनल प्रतिक्रिया दिन्छन्। उनीहरुको त्यस इमोसनल विस्फोटनको दोष उल्टै त्यस पोस्ट राख्ने मान्छेलाई दिन्छन्।
माया एन्जलोको एउटा प्रख्यात भनाइ यस्तो छ, “तिमीले भनेको कुरा मान्छेहरुले बिर्सिनेछन्, तिमीले गरेको काम, त्यो पनि बिर्सिनेछन्। तर तिमीले उनीहरुलाई कस्तो महसुस गरायौ, त्यो कहिले पनि बिर्सिनेछैनन्।”
एन्जलोको यस भनाइमा सत्यता त छ तर एक्कैछिन् क्रिटिकल भएर नियालेर हेर्दा, त्यसमा आधा सत्यता मात्र छ। (हुन त, उनले त्यो भनाइ कुन सन्दर्भमा भनेका थिए, त्यो त थाह नै छैन।) उनको भनाइ अनुसार, कुनै पनि अन्तरक्रिया वा वार्तालापको परिणाम जे भए पनि अर्को व्यक्तिले कस्तो महसुस गर्छ भन्ने कुरा महत्वपूर्ण हो। बोल्ने मान्छेले त्यसमा ध्यान दिनु पर्छ। अर्थात्, सुन्ने मान्छे वा ग्रहन गर्ने मान्छेले कस्तो महसुस गर्छ भन्ने कुराको जिम्मेवारी बोल्ने व्यक्तिको हो।
यसरी हेर्दा लाग्छ, सुन्ने मान्छेले के सुन्छ, त्यसको कसरी अर्थ लगाउँछ र कस्तो इमोसन महसुस गर्छ - त्यो सबै कुराको हेक्का राखेर मात्र बोल्नु पर्छ। सही होस् वा गलत कुरा होस्, जसरी हुन्छ, बोल्ने मान्छेको मूख्य उदेश्य भनेको सुन्ने मान्छेको चित्त नदुखाउनु हो। सकारात्मक फिडब्याक होस् वा नकारात्मक, उसलाई खुसी बनाउनु हो।
एन्जलोको यो भनाइ कुन सन्दर्भमा सही होला त?
हुनसक्छ, एउटा संस्थाको लिडरले आफ्नो कर्मचारीहरुसंग बोल्ने क्रममा उनीहरुले कस्तो महसुस गर्लान् भनि सोच्नु पर्छ होला। गाली नै गर्नु पर्दा पनि सम्झाई बुझाइ गरेर, माया गरेको महसुस गराउनु पर्छ होला। त्यसै कक्षा कोठामा एउटा शिक्षकले आफ्नो विद्यार्थीहरुलाई फिडब्याक दिंदा कस्तो अनुभव गर्लान् त भनि सोच्नु पर्छ होला। नकारात्मक वा आलोचनात्मक फिडब्याक दिंदा पनि कसरी विद्यार्थीहरुलाई झनै उत्प्रेरित गर्न सकिन्छ भनेर सोच्नु पर्छ होला।
तर यस भनाइमा एउटा ठूलो समस्या छ। वास्तवमा भन्नु पर्दा, एन्जलोको भनाइले सुन्ने मान्छेको भूमिका र त्यस वार्तालापको परिणाममा त्यस मान्छेको जिम्मेवारीको वास्ता गरेको छ। खास गरी, यदी सुन्ने मान्छेलाई “चित्त” दुख्ने कुरा गरिएको रहेछ भनि। (उसको चित्त दुखाएको हो कि? उसले चित्त दुखाएको हो?)
लाग्छ अहिलेको माहोलमा, एन्जलोको भनाइको प्राय मान्छेहरुले यसरी अर्थ बनाएका छन्:
“तिमीले मलाई राम्रै कुरा सुनाउ, म बिर्सिनेछु। तिमीले मलाई राम्रै गर, त्यो पनि म बिर्सिनेछु। तर खबरदार, तिमीले मेरो चित्त दुखायौ, नराम्रो महसुस गरायौ, वा मेरो मनमा चोट पुरायौ भने, म तिमीलाई कहिले पनि बिर्सिने छैन। किन भने तिम्रो बोली र व्यवहारलाई मलाई जसरी चित्त बुझ्छ, त्यसरी नै अर्थ लगाउने छु। र त्यसको सम्पूर्ण दोष तिम्रो नै हुने छ।”
यो त निक्कै अनौठो अवस्था पो भयो त।
++
एक अमेरिकी मनोचिकित्सक लोगन कोहेन भन्छन, “तिमीलाई कसैले अपमानजनक व्यवहार गरेको हो वा तिमीले अपमानित महसुस गरेको हौ - यो दुई बिचको फरक जान्न सिक।” तिमी अपमानित फिल गर्नुमा अरुले भनेको वा गरेको कुराले हो कि तिमीलाई भित्रबाट अरु कुनै कुराले ट्रिगर गरेको हो। अर्को मान्छेको बोली /व्यवहारको कारण तिमी रिसाएको हौ कि तिम्रै आफ्नो कारणले तिमी रिसायौ? तिम्रो आफ्नै विगतको कुरा, तिम्रो आफ्नै मन भित्रको डर वा त्रास, तिम्रो लुकेको कमीकमजोरी हुन सक्छ। जब सम्म तिमीले त्यस ट्रिगरलाई स्वीकार गर्दैनौ, अरु मान्छेका हरेक कुरा वा व्यवहारले तिमीलाई नै आर्क्रमण गरेको जस्तो लाग्नेछ।
सानो तिनो असहमतिमा पनि पूरै संसारले तिमीलाई हेपेको, तिरस्कार गरेको, अपमान गरेको लाग्नेछ। जतिखेर पनि, “मेरो चित्त दुख्यो” भनेर गुनासो गर्छौ भने तिमी कहिले पनि असर्टिभ हुन सक्ने छैनौ।
सोसल मिडियाको प्रसंग जोडेर हेरौं न जहाँ धेरै जनाले आफ्नो चित्त दुखेको, अपमानित महसूस गरेको भनेर पोस्ट वा कमेन्ट गर्ने गर्छन। त्यहाँ हुने ९०% अभद्र बोली, आक्रामक व्यवहार, र भनाभनको कारण भनेको:
१. पढ्ने सीप र समझको कमी
२. आफ्नो इमोसनलाई सम्हाल्ने क्षमताको कमी
(सोर्स: सिरुत चावलाको इन्स्टाग्राम पोस्ट। उनी पनि मनोचिकित्सक हुन्।)
प्राय मान्छेहरु अरुले राखेको पोस्टलाई अधकल्चो तरीकाले पढ्छन र राम्ररी बुझ्दै नबुझी ठूलो इमोसनल प्रतिक्रिया दिन्छन्। उनीहरुको त्यस इमोसनल विस्फोटनको दोष उल्टै त्यस पोस्ट राख्ने मान्छेलाई दिन्छन्। अनि अभद्र शब्दहरु प्रयोग गरेर आक्रमण गर्छन् - बक्सिंगको पन्चीङ्ग ब्यागलाई ठोके झैँ।
त्यस पोस्टको अर्थ जे सुकै होस्, पोस्ट गर्नेको आशय जे सुकै होस्, प्राय मान्छेले आफ्नो मन भित्रको तुस, डाह, असन्तुष्टि, पिडा, डर, आक्रोस, आदि पोख्ने बहाना मात्र खोजेका हुन्छन्। पोस्ट भित्रको विषय वस्तुलाई राम्ररी पढ्दै नपढी (वा हेर्दै नहेरी) आफ्नै निजि मुद्दा मामला मिसाएर कमेन्ट गर्छन्।
लाग्छ, केहि मान्छेहरु मौका खोजेरै बसेका हुन्छन्: चित्त दुखाउन, अपमानित महसुस गर्न, पिडित घोषणा गर्न, अरुको मनको शान्ति तहसनहस गर्न र भाँड भैलो गर्न। उनीहरुलाई सोसल मिडियामा झगडा गर्ने लत लागेको हुन्छ। त्यसबाट उनीहरुलाई एक प्रकारको अनौठो आनन्द प्राप्ति हुने होला।
वास्तवमै अपमानजना व्यवहार गरेको हो भने तिमीले आफ्नो असर्टिभ सीपको प्रयोग गर्न सक्छौ। त्यस अवस्थालाई आफ्नो कन्ट्रोलमा राख्न सक्छौ।
जस्तै: तिमीले फेसबुकमा आफ्नो एउटा फोटो राख्यौ। अनि कसैले तिमीले लगाएको जुत्ता माथि छुद्र कमेन्ट गर्छ र तिमीसंग बित्थामा निहु खोज्ने प्रयास गर्छ। तिमीले उसको कमेन्टलाई गम्भीर रूपमा लिनेछौ र आक्रोशमा आएर जवाफ दिनेछौ भनि कुरेर बसेको हुन्छ।
त्यस जालोमा नफस। बाल देऊ। इन्टरनेटमा एउटा दिव्यउपदेश छ: don’t feed the troll, अर्थात् तिमीले त्यस्तो मान्छेलाई जवाफ दिनु भनेको उसलाई बेकारमा ध्यान दिनु हो, र उसलाई थप उर्जा हो। उ झन् झन् आक्रामक र अभद्र हुँदै जान्छ। अन्त्यमा तिम्रै टाउको दुख्छ।
तर अपमानित महसुस गरेको वा हेपिएको, चित्त दुखेको अनुभव गरेको हौ भने चाहिँ आफैँ भित्र नियालेर हेर।
जस्तै: “धेरै मोटो हुनु भनेको स्वास्थको लागि हानिकारक छ है” भनेर कसैले आफू कसरत गर्दै गरेको फोटो पोस्ट गरेको देख्दा तिमीलाई रिस उठ्छ वा तिमीलाई नै औला देखाएर गाली गरेको जस्तो लाग्छ भनि चाही समस्या तिमीमा नै छ।
तिमीलाई के कुराले सताइ रहेको छ, त्यसलाई सामना गर। तिमीले आफुलाई किन “म त पिडित हुँ” भनि दर्जा दियौ, त्यसको उत्तर खोज। त्यस बाहेक अरु कुनै पनि उपाय नै छैन।
++
सोसल मेडियामा मात्र होइन, आजकाल बाहिरी “रियल” दुनियामा पनि धेरै मान्छेहरु “मलाई चित्त दुख्यो” भनेर आक्रामक हुने, बखेडा गर्ने, र अरुहरुलाई तथानाम भन्ने गरेको भेटिन्छ। प्राय सबैको हात हातमा मोबाइल फोन हुने भएकोले अहिले त्यस्ता घटनाहरुको भिडियो खिचेर सोसल मेडियामा पोस्ट गर्ने गरिन्छ, जुन निक्कै भाइरल पनि हुने गर्छन्।
जस्तै एउटा भिडियो, जसमा अमेरिकाको कुनै एउटा रेस्टुरेन्टमा एउटा वयस्क महिला वेटरसंग वादविवाद गर्दै हुन्छिन्। उनको शरीरको हाउभाउ निक्कै आक्रामक देखिन्छ। चर्को स्वरमा “मेरो बर्गरमा यती धेरै केचप नहाल भनेको होइन?” भनेर उनले त्यस बर्गरलाई वेटरको खुट्टामा भ्यात्त फ्याकी दिन्छिन्।
स्पष्ट रूपमा, रेस्टुरेन्टका मान्छेले गल्ती गरेका थिए, उनको बर्गर सही ढंगले तयार नगरी दिएर। तर, जुन तरिकाले त्यस महिलाले वेटरलाई गाली गर्दै, बर्गर भुइँमा फालिन, त्यस अनावश्यक र कच्चा व्यवहारको जिम्मेवारी भने उनीले नै लिनु पर्थ्यो।
सो भिडियो अनलाइनमा पोस्ट गर्न हुने वा नहुने अर्कै विषय होला। तर सो भिडियो निक्कै भाइरल हुन जान्छ। कमेन्ट मार्फत उनको व्यवहारलाई धेरैले आलोचना गर्छन, उनलाई “केरेन” को नमूना भनि मजाक उडाउँछन्।
केहि समय पछि, सो महिला आफैले एउटा भिडियो रेकर्ड गरेर पोस्ट गर्छिन र त्यसमा आफ्नो पक्षको कुरा राख्छिन्, “मलाई त्यस रेस्टुरेन्टको वेटरले अपमानित महसूस गरायो त्यसैले मैले आफ्नो सुरक्षाको लागि प्रतिकार गरेको हुँ। त्यसरी व्यवहार गर्नुमा मेरो कुनै पनि गल्ती होइन।” छोटकरीमा भन्नु पर्दा, रेस्टुरेन्टको गल्तीलाई उनले निजी आक्रमण भनि महसुस गरेको बताइन्।
त्यस अवस्थालाई धेरै तरीकाले सम्हाल्न सकिन्थ्यो होला। सहज गर्न सकिनथ्यो होला। उनले आफ्नो इमोसनलाई नियन्त्रणमा राखेर आफ्नो गुनासोलाई सिधा तरिकाले पोख्न सक्थिन, र वेटरले गल्ती स्वीकार गरेर अर्कै बर्गर लिएर आउन सक्थ्यो। तर त्यसको बदला, उनले अपमानित भएको महसुस गर्ने र आक्रामक हुने फैसला गरिन। बेकारको बखेडा गरेर तमासा मचाउने निर्णय गरिन।
यस्ता भिडियो क्लिप्स र घटनाहरु लाखौँको संख्यामा हेर्न सकिन्छ - युट्युब देखि टिकटकमा। अनि हरेक जसो क्लिप्समा वयस्क, पूर्ण रूपमा हुर्केका व्यक्तिहरु विवेकहीन भएर, पुल्पुलियेका बच्चाहरु झैँ ड्रामाबाजी गरेको हेर्न सकिन्छ। कसले कसको चित्त बढी दुखाएको छ भनेर प्रतिस्पर्धा गरेको देखिन्छ।
++
मनोचिकित्सक सिरुत चावलाको अनुसार सोसल मेडियामा मान्छेहरुको पढ्ने र बुझ्ने क्षमताको कमी भए झैँ, वास्तविक संसारमा पनि मान्छेहरुको सोसल चेतनाको कमी हुँदैछ भनि अनुमान गर्न सकिन्छ। चावला भन्छन्, धेरै मान्छेहरु सतही, आलङ्कारिक र मीठो सुनिने कुराकानीको लतमा परेका छन् कि सिधा, परिपक्क, र तथ्यपरक वार्तालाप उनीहरुको लागि “असजिलो” लाग्छ। झन् कसैले उनीहरुलाई प्रश्न गर्नु भनेको त सिधै “आक्रमण” गरेको मान्छन्।
फलस्वरूप, अरुले भनेको सिधा कुरालाई वा कार्यलाई आफ्नै असुरक्षित मनले व्याख्या गर्ने, तथ्यलाई बेवास्ता गर्ने वा बाङ्गो टिङ्गो गर्ने, र अर्थको अनर्थ लगाउने गर्छन्। अनि अरुको “बोलाइको टोन” मन नपरेको भन्दै अरुलाई दोष लगाउने, चर्को गुनासो गर्ने र बझाबाझ गर्ने गर्छन्।
जबसम्म उनीहरु अरुको कुरालाई पूरै राम्ररी बुझ्ने इच्छा राख्दैनन्, तबसम्म उनीहरुले इमोसनल नौटंकी प्रदर्शन गर्दै जाने छन्। जबसम्म उनीहरु “आइ फिल हर्ट” र “आइ फिल अफेन्डेड” कै भूमरीमा बाँची रहन चाहन्छन् तबसम्म सोसल मेडिया झन् अनसोसल हुँदै जाने छ। र, जबसम्म मान्छेहरुले “अपमानजनक व्यवहार” र “अपमानित महसुस गर्नु” लाई छुटाएर विश्लेषण गर्न सक्दैनन् (वा चाहदैनन्), यो अवस्था झन् झन् निरासाजनक हुँदै जाने देखिन्छ।
Be positive, feel positive, do positive… Thank you✌️