सबै जना अफेन्डेड, बोले पनि अफेन्डेड, नबोले पनि अफेन्डेड:
हरेक कुरामा सजिलै अफेन्डेड हुने व्यक्तिहरु संग सामान्य तर्कसंगत वार्तालाप गर्न एक थोपा पनि सम्भव छैन।
(“Don’t be so eager to be offended” from the movie Tár, 2022)
२०२२ को हलिवुड चलचित्र “टार” को पहिलो सिनमा मूख्य पात्र लिडिया टार र उनको एउटा विद्यार्थी बिच एउटा रोचक वार्तालाप हुन्छ। सो विद्यार्थीलाई, बेथोभन (जसलाई पश्चिमी क्लासिकल संगीतका महान संगीतकार भन्छिन) को रचनाहरु “अपमानजनक” लाग्ने कुरा ब्यक्त गर्छ।
कुनै पनि संगीत वा आर्टको विद्यार्थीले आर्ट र आर्टिस्टलाई अलग गरेर हेर्नु पर्छ भन्ने तर्क राख्दै, लिडिया टारले सो विद्यार्थीलाई सम्झाउने प्रयास गर्छिन, “अफेन्डेड हुन त्यती धेरै पनि उत्सुक नबन। नत्र आर्टलाई बुझ्न र आनन्द लिनुको सट्टा हरेक आर्टिस्टमा खोट खोज्ने तिमीलाई बानी पर्छ।” तर पनि, उनले सो विद्यार्थीको नाजुक इगो र पक्षपाती नजरलाई परिवर्तन गर्न सक्दिनन्। सिनको अन्त्यमा उनलाई नै त्यस विद्यार्थीले अपशब्द प्रहार गरेर निस्किन्छ।
सो विद्यार्थी झैँ, मलाई लाग्छ, आजकाल धेरै मान्छेहरु निक्कै उत्सुक छन् अफेन्डेड हुन। भिगनहरु मासु खाने देखि अफेन्डेड हुन्छन्, विद्यार्थीहरु शिक्षक देखि अफेन्डेड हुन्छन्, स्याम-संग् मोबाइल चलाउनेहरु आइफोन् चलाउनेहरु देखि अफेन्डेड हुन्छन्। स्टिलको बोतल बोक्नेहरु प्लास्टिकको बोतल बोक्ने संग अफेन्डेड हुन्छन्।कस्टमरहरु कम्पनी देखि अफेन्डेड हुन्छन्। चिन्दै नचिनेको मान्छेसंग पनि अफेन्डेड हुन्छन्। लाग्छ, बिहान उठ्ने बितिक्कै एउटा लिस्ट तयार गर्छन् - आज म के देखि अफेन्डेड हुने, को देखि अफेन्डेड हुने?
अराजक छ बाहिरी संसार। सोसल मेडिया पनि नाम मात्रको सोसल छ। त्यहाँ मान्छेहरु पूरै अनसोसल छन्।
त्यसैले, अहिलेको माहोलमा, जब जब तिमी केहि बोल्छौ, हरेक सुन्ने मान्छेले अफेन्डेड महसूस गर्न सक्ने ठूलो खतरा छ। “भलाइका तो जमाना हि नही है” भने झैँ, राम्रै सोच वा आशय राख्दा पनि कोहि न कोहिलाई तिमीले निरास गर्ने नै छौ, चित्त दुखाउने नै छौ, हेप्ने नै छौ - हरेक चोटी तिमीले विचार पोख्दा वा मूख खोल्दा वा लेख्दा। लाग्छ, मान्छेहरु अफेन्डेड हुने मौका कुरेर बसेका छन्। अनि तिमीले बोल्यो कि कसै न कसैलाई पोली हाल्छ।
यस्तो भद्रगोल अवस्थामा के गर्ने त भनेर यस्सो नियालेर हेर्दा, तिमीसंग लगभग तीनवटा विकल्पहरु छन्:
क. केहि पनि नबोल्ने, नलेख्ने, केवल दर्शक/श्रोता भएर बस्ने। सबै भन्दा सजिलो विकल्प। आफ्नो विचारलाई कहिले बाहिर नराख्ने।
ख. आफ्नो बोली वा विचारलाई फिक्का बनाउने, शब्द चयन गर्दा अति नै सतर्कता अपनाउने, अनि हरेक शब्दलाई २७ पटक सम्म तोलमोल गर्ने, र अन्तिममा अस्पष्ट, खल्लो र फितलो तरिकाले कम्युनिकेट गर्ने। सबैजना खुसी हुने तरिका अपनाउने।
ग. इमान्दारीका साथ, स्वतन्त्र भएर आफ्नो कुरा राख्ने, बोल्ने/लेख्ने।
अब के गर्छौ त तिम्रो नै निर्णय हो।
अहिले धेरै मान्छेहरु, विशेष गरी सोसल मेडियामा, हरेक कुरामा “म अपमानित भए” भनेर चर्को स्वरमा कचकच् गर्ने गरेको देख्न सकिन्छ। फेसबुक, टिकटक, ट्वीटर देखि चिया पसल, कार्यालय, र सामान्य भेटघाट सम्म।
आफ्नो धारणा, विश्वास, र राय भन्दा अरुको फरक मत वा धारणा देख्ना साथ, उनीहरु माथि इमोसनल आक्रमण भएको भन्दै रुने कराउने गर्छन्। कुनै पनि विपरीत विचार सुन्न साथ उनीहरु इमोसनल बन्ने गर्छन्। ठुस्स परेर बस्ने देखि झगडालु हुने र आक्रामक बन्ने सम्म गर्छन्। लामो लामो कमेन्टहरु पोस्ट गर्ने, गाली गलोज गर्ने, अभद्र तरिकाले व्यक्तिगत आक्रमण गर्ने र हरेक मामलालाई आफ्नो निजी मामला बनाउने गर्छन्। आफ्नो निजी अनुभवलाई नै संसारको वास्तविकता हो भनि अनौठो तर्क गर्ने गर्छन्।
उनीहरुको निजी विचार र भित्रि आत्मविश्वास यती कमजोर हुन्छ कि अरुको हल्का मात्र विपरित राय, विचार र दृष्टिकोण सुन्ना साथ, उनीहरुको खुट्टा लर्बराउन थाल्छन्। त्यसमाथि, सामान्य वार्तालाप गर्ने सिप र अरुको कुरालाई रोकटोक नगरि सुन्ने सिप यति कमजोर हुन्छ कि उनीहरु झगडा नगरि, गनगन नगरि, चर्काचर्की नगरि सभ्य तरिकाले कुनै अन्तरक्रिया गर्न सक्दैनन्, जान्दैनन्।
कहिले काही लाग्छ, यस्ता सजिलै अफेन्डेड हुनेहरु वास्तवमा अफेन्डेड हुनुको फिलिंग निक्कै मनपराउछन्। उनीहरुलाई जसरी भए पनि अटेन्सनको खाँचो हुन्छ। अनि अफेन्डेड भएर उफ्रिंदा, चकचके बच्चाले जस्तै, उनीहरुले पनि अरुको सजिलै अटेन्सन पाउछन्। यसरी बिस्तारै लागूपदार्थको लतमा फसे झैँ, निरन्तर अफेन्डेड हुने लतमा रमाउछन्। अन्त्यमा, दुर्ब्यसनीले लागूपदार्थ प्रयोग गर्न नपाउँदा जस्तो हालत हुन्छ, अफेन्डेड हुन नपाउँदा यस्ता मान्छेहरुको हालत पनि त्यस्तै हुन्छ।
यस भाइरल समस्याको के समाधान होला? तिमी के गर्न सक्छौ त?
एउटा कुरा चाही सत्य हो। हरेक कुरामा सजिलै अफेन्डेड हुने व्यक्तिहरु संग सामान्य तर्कसंगत वार्तालाप गर्न एक थोपा पनि सम्भव छैन। याद राख, तिमीले कहिले पनि भावनावादको घुमाउरो भाषालाई तर्कवादको सिधा भाषाले सम्झाउन र बुझाउन सक्दैनौ। तिनीहरूमध्ये लगभग कोहि पनि तिम्रो कुरा बुझ्न र जायज भए आफ्नो विचार परिवर्तन गर्न आएका हुन्नन्। बरु एउटा चट्टानले तिम्रो कुरा सुनेर बुझ्ने प्रयास गर्न सक्छ, यस्ता व्यक्तिहरुले सक्दैनन्। अन्त्यमा, तिम्रो आफ्नै कपाल झर्छ। निन्द्रा हैरान हुन्छ। (त्यस्तै, उनीहरुको व्यवहार, सोचाई आदि परिवर्तन गर्छु भनेर प्रयत्न पनि नगर। त्यो तिम्रो जिम्मेवारी होइन।)
झनै खतरनाक त, केहि धूर्त र दुष्ट व्यक्तिहरु गोमन साँप जसरी सोसल मेडियाको कुनामा लुकेर बसेका हुन्छन्। मौका पाउना साथ तिमीलाई डस्नेछन्। तिम्रो रायलाई तिम्रै विरुद्ध प्रयोग गर्ने छन्। एउटा सन्दर्भमा गरेको कुरालाई अर्कै सन्दर्भमा जोडेर अर्थको अनर्थ बनाउने गर्छन्। गलत चित्रण गरिदिन्छन्। तिम्रो करियर ध्वस्त गर्न, तिम्रो विश्वसनीयता माथि प्रश्न गर्न, र तिम्रो जीवन नर्क बनाउन।
त्यसैले, कुनै पनि विचार राख्नु वा टिप्पणी गर्नु अघि, एक छिन् आफ्नो मूखलाई बन्द राख, आफ्नो हातलाई रोक। अनि मनमनै सोध:
के यो विचार भन्नु जरुरी छ?
के यो विचार मैले नै भन्नु जरुरी छ?
के यो विचार मैले अहिले नै भन्नु जरुरी छ?
यति धेरै जोखिमका बावजुत पनि तिमी आफ्नो विचार पोख्ने निर्णय गर्छौ भने, याद राख, अफेन्डेड हुनेहरुको हुरीबतास आउने छ, त्यसलाई सामना गर्न दृढ भएर बस। जवाफ फर्काउनु पर्दा, असर्टिभ कम्युनिकेसनको उपयुक्त साधनलाई प्रयोग गर। महत्वपूर्ण कुरा, गल्तीले पनि उनीहरुको भावनावादको पासोमा फस्ने काम नगर।
—
(Sidenote: सोसल मेडियामा अन्तरक्रिया गर्ने मेरो पनि तरिका परिवर्तन भएको छ। आजकाल निक्कै थोरै पोस्ट र कमेन्ट गर्ने गर्छु। विशेष गरि, अरुले राखेको पोस्टहरुमा। अनि, मैले राख्ने विचार र रायको दायरा केवल शिक्षा र शिक्षण मात्र तोकेको छु। शिक्षा र शिक्षण क्षेत्रमा पनि धेरै मान्छेहरुको विभिन्न विचार र राय हुन्छ र धेरै जनाहरु अफेन्डेड हुने प्रकारका पनि छन्। तर मेरो विचार असर्टिभ भएर राख्छु, कसैलाई निसाना नगरि, दृढ भएर राख्ने गरेको छु।
बहु अर्थ र विवादित नहुने गरेर, तर्कवादको सिधा भाषा प्रयोग गरेर आफ्नो कुराहरु पोस्ट गर्छु। जब जब कसैले भावनावादको घुमाउरो भाषा प्रयोग गरेर भिन्न विचार राख्छन्, लोडेड प्रश्न गर्छन् र उत्तेजित बनाउने प्रयास गर्छन्, म आफ्नो असर्टिभ कम्युनिकेसनको कला प्रयोग गर्दै जवाफ दिन्छु। भद्र र सभ्य भएर, सिधा र सरल भाषा प्रयोग गर्छु। किन भने मलाई राम्ररी थाह छ, म उत्तेजित हुनु र भावनावादको घुमाउरो भाषामा फस्नु भनेको केशव स्थापितले गरेको गल्ती दोहोराउनु हो। त्यसैले, रोलो टोमासीले दिएका, भावनावादको भाषालाई राम्ररी बुझ तर तर्कवादको भाषामा बोल, यस सुनौलो सल्लाहलाई आत्मसात् गरेको छु।)