“म तपाईंहरुलाई एकदमै अनेस्ट फिडब्याक दिन्छु है,” सुजितले अलि गम्भीर अनुहार लगाउँदै भन्नु भयो।
यो वाक्य सुन्ना साथ मेरो मनमा हल्का कौतुहलता पस्यो। अनि हल्का डर पनि।
कौतुहलता, किन कि सुजितले दिन लागेको फिडब्याक नकारात्मक हुन्छ, आलोचनाले भरिएको हुन्छ भनेर होइन कि, उनको फिडब्याकलाई तटस्थ भएर, कुनै पनि आवेगमा नआई, सच्चा मनले सुन्नको लागि ती सहभागीहरु तयार हुन्छन कि हुँदैनन् भनेर।
डर, किन कि यम्बुलेन्सको साइरन झैँ मेरो दिमागको एउटा भागमा “लौ बरबाद, लौ बरबाद” बज्दै थियो।
कुरो एउटा वर्कसपको, जहाँ सुजित एउटा भर्खरै सुरु भएको डिजिटल मार्केटिंग संस्थाका करिब २० जना मार्केटिंग अफिसरहरुलाई प्रभावकारी प्रस्तुतिकरणको बारेमा सेसन लिँदै थिए। म चाँहि उनको ट्रेनिंग सेसनको अवलोकन गर्न पछाडि कुर्सीमा बसेर नोट लेख्दै थिएँ।
उनको योजना अनुसार, वर्कसपको पहिलो भागमा नै सहभागीहरुलाई एउटा चुनौती दिने। १० मिनेट भित्र सबैजनालाई एउटा प्रेजेन्टेसन तयार गर्न लगाउने, र उनीहरुलाई त्यो सबै ९० सेकेन्डमा प्रस्तुत गर्न लगाउने। सबैलाई एउटै विषय दिइएको थियो - आफ्नो संस्थाको भिजन मिशन र लक्ष्यहरूको बारेमा एउटा साधारण मान्छेले पनि बुझ्न सक्ने गरी प्रस्तुत गर्ने।
यसरी एउटा चुनौती दिएर वर्कसप सुरु गरेर, सहभागीहरुको प्रस्तुतीकरण सम्बन्धी पूर्वज्ञान, सीप, र अनुभवको स्तर कस्तो रहेछ भनेर अनुमान गर्ने, सुजितको योजना थियो।
सहभागीहरुले आफूले जाने बुझे अनुसार १० मिनेटमा तयारी गरे, अनि पालै पिलो ९० सेकेन्डमा आफ्नो सामग्रीको प्रस्तुती गरे।
सुजित हरेक सहभागीको प्रस्तुतीकरणलाई राम्ररी हेर्दै आफ्नो नोटबुकमा टन्नै कमेन्टहरु लेख्दै थिए। सबैजनाको पालो सकिए पछि, सुजित अगाडि आए र भने, “म तपाईंहरुलाई एकदमै अनेस्ट फिडब्याक दिन्छु है।”
मेरो मनमा केहि चिन्ता थियो, साथै अनेक थरीका उत्सुकता पनि।
फिडब्याक - एउटा जोखिमपूर्ण काम:
धेरै मान्छेहरु फिडब्याक दिनु निक्कै रमाइलो ठान्छन्। उनीहरु मनमा जे लागेको छ त्यही बोली दिन्छन्। आफ्नो विचारलाई प्याच्च भनी दिन्छन्। भर्खरै चिनजान भएको मान्छेसंग होस् वा सामाजिक संजालमा चिन्दै नचिनेको मान्छेसंग। जसलाई पनि फ्याट्टै फिडब्याक दिने अचेत बानी परेको छ, धेरै मान्छेको।
उनीहरुले यसो गर्नुमा दुईवटा कारणहरु छन्।
पहिलो, आफ्नो जिब्रोलाई लगाम लगाउन सक्दैनन्। त्यसैले मान्छेहरु जानी नजानी आफ्नो नितान्त निजी कुराहरु र भित्री भावनाहरु सजिलै अरुको अगाडि राखी दिन्छन्, फिडब्याक दिने नाममा। ईर्ष्या, जलन, र हेपाहा प्रवृति झल्किने गर्छ उनीहरुको फिडब्याकमा। त्यस्तै, प्रसङ्गसँग नै मेल नखाने, ताँइ न तुइको कुरा गरेर, सरल कुरालाई झन् गाँठिएको बनाएर समय बर्बाद गरि दिन्छन्, फिडब्याकको नाममा।
दोस्रो, सफा र स्पष्ट आशय राखेर, खुला मनले फिडब्याक दिँदा अरु मान्छेको मन जित्न सकिन्छ भनेर धेरै मान्छेले विश्वास गर्छन। “मेरो आशय त राम्रै छ नि” वा, “मैले त सत्य कुरा गरेको त हो नि”, “मैले भनेको उसकै भलाईको लागि त हो नि” भनेर तर्क गर्छन। यो पनि ठूलो भ्रम हो।
सत्यवादी हुनु भनेको सुन्नको लागि मात्र राम्रो सुनिन्छ। जसरी कुनै भुत्ते हतियारले प्रहार गर्दा बाहिर नकाटे पनि भित्र गाढा चोट लाग्छ, त्यसरी नै, सत्यवादी हुँदा र सफा स्पष्ट भएर अरुलाई फिडब्याक दिँदा प्रायको मनमा गहिरो घाउ लाग्न जान्छ। बाहिरबाट ङिच्च हाँसेर तिम्रो फिडब्याकलाई सुने पनि।
सम्झी राखौं, प्राय मान्छेहरु यथार्त परक फिडब्याक सुन्दा आश्चर्यचकित, अपमानित र आक्रोषित पनि हुने गर्दछन्। त्यसैले, “अनेस्ट” फिडब्याक दिँदा सबैले तिम्रो “राम्रो” आशयलाई बुझ्नेछन् र सो फिडब्याकको लागि कृतज्ञ हुनेछन् भन्ने लाग्छ भनी, एक छिन् फेरी सोच। जोखिम लिन तयार छौ कि छैनौ?
फिडब्याक दिनु अघि तीन प्रश्नहरु:
याद राख, प्राय मान्छेलाई फिडब्याक सुन्नु नै छैन, लिनु नै छैन। उनीहरुले फिडब्याक मागेको पनि हुन्नन्। सायद तिमी चाँहि जबर्जस्ती फिडब्याक दिन खोज्दै छौ।
त्यसैले, आफैलाई प्रश्न गर, “के मैले फिडब्याक दिनु जरुरी छ र?”
अनि, कसैले फिडब्याक मागी हाल्यो भनी, फेरी पनि आफैलाई प्रश्न गर, “यस व्यक्तिले साँची कै फिडब्याक मागेको हो र?”
किन कि, उनीहरुले फिडब्याकको सट्टामा कदर खोजेका हुन सक्छन्। सम्मान र स्वीकृति खोजेका हुन सक्छन्। उनीहरुको कामको पुष्टीकरण, र अरुले उनीहरु माथि ध्यान दियोस् भन्ने खोजेका हुन सक्छन्।
होइन, साँची कै फिडब्याक मागेकै हो जस्तो लाग्यो र तिमीलाई पनि फिडब्याक दिन मनलाग्यो भने, फेरी आफूलाई प्रश्न गर, “यो कुरामा फिडब्याक दिनको लागि म उचित व्यक्ति हुँ कि होइन?”
यी तीनवटा प्रश्नहरुको सकारात्मक उत्तर आएर मात्र पुग्दैन।
फिडब्याक दिनको लागि कसरी वातावरण मिलाउने:
फेरी तीनवटा दृष्टिकोणलाई ध्यानमा राख्न जरुरी छ।
पहिलो कुरा, “म अनेस्ट फिडब्याक दिन्छु है” भनेर घोषणा गर्दा निक्कै सावधान हुनु पर्छ। यस्तो वाक्य सुन्ना साथ, धेरै मान्छेहरु चनाखो हुन्छन, सायद भयभीत पनि। किनकि फिडब्याक भन्नाले नकारात्मक वा आलोचनाले भरिएको हुन्छ भन्ने धेरैको सोचाई छ, र अनुभव पनि। फलस्वरूप, आफ्नो बचाउ गर्न र तिम्रो फिडब्याकलाई प्रतिरोध गर्न तम्तयार हुने छन्। तिम्रो आक्रमणबाट बच्नको लागि बलियो मानसिक कवच लगाउने छन्। तिम्रो मेहेनत व्यर्थमा जाने छ।
दोस्रो कुरा, त्यही समय, त्यही ठाउँ र त्यही प्रसङ्गमा, सफा स्पष्ट र खुला फिडब्याक दिँदा ठिक हुन्छ कि हुँदैन भनेर एक छिन् विचार गर। तिम्रो आफ्नो विवेक प्रयोग गरेर मात्र आफ्ना शब्दहरु राख। मनमा लागेको कटु र कुरूप सत्यलाई भन्नु भन्दा उनीहरुलाई त्यस अवस्थामा के सुन्न मन लागेको छ, त्यसलाई नै मिलाएर भन्नु नै प्रभावकारी हुनेछ।
तेस्रो कुरा, सिधै तातोतातो फिडब्याक दिने गल्ती नगर। सामाजिक संजालमा धेरै जनाले यही गल्ती गर्ने गर्छन। अरुले गरेको पोस्टमा, सन्दर्भ बुझ्दै न बुझी प्याच्च फिडब्याक दिने, अर्ति उपदेश दिने, नैतिकताको पाठ सिकाउने। र हामीले देखेका छौँ, त्यस्तो वार्तालाप धेरै जसो दोशारोपन गरेर, मनमुटाब भएर, र तथानाम भनेर अन्त्य हुने गरेको।
फिडब्याक दिने कि नदिने भनेर निर्णय गर्नु अघि, त्यस व्यक्तिसँग तिम्रो कस्तो सम्बन्ध छ भनेर जोख्नु जरुरी हुन्छ। तिम्रो र त्यस व्यक्तिको बीच १००% विश्वासको सम्बन्ध छ, त्यस व्यक्तिले तिमीलाई कुनै विषयको ज्ञाता वा निपुण छौ भनी मानेको छ, र तिम्रो फिडब्याकले उसलाई साँची कै फाइदा हुन्छ भनी मात्र “अनेस्ट” फिडब्याक देउ।
फेरी सुजितको प्रसङ्गमा आउँ।
सुजित त्यस वर्कसपको ट्रेनर भएका कारण उनले सहभागीहरुलाई फिडब्याक दिन सक्ने स्थानमा थिए। साथै, उनको विश्वसनीयता र योग्यताको कारण पनि सहभागीहरुले उनले दिएको फिडब्याकलाई सुन्ने पर्ने स्थिति थियो। त्यस्तै, एउटा ट्रेनरको फिडब्याक पाउन सहभागीहरुले अपेक्षा गरेका नै हुन्छन। उनीहरु मानसिक, भावनात्मक र सामाजिक रुपमा पुरै तयार नभए पनि, सुजितको फिडब्याकले उनीहरुको प्रस्तुतीकरण सम्बन्धी ज्ञान र सीप सुधार हुन्छ भनी उनीहरुलाई विश्वास थियो। त्यसैले, उनले अनेस्ट फिडब्याक दिनु जायज देखिन्छ।
फिडब्याक दिनुलाई अन्तिम रणनीतिको रुपमा मात्रै प्रयोग गर्नु पर्छ। जब उनीहरु फिडब्याकको लागि साँची कै मानसिक रूपमा, भावनात्मक रुपमा, र सामाजिक रूपमा तयार हुन्छन, तब मात्र तिमीले दिएको फिडब्याकलाई लिन, बुझ्न, र कार्यान्वयन गर्न तयार हुन्छन।
अन्तिममा:
फिडब्याक दिनु अघि आफैँलाई सोध्नु पर्ने तीन महत्वपूर्ण प्रश्नहरुलाई फेरी हेरौं:
१. के मैले फिडब्याक दिनु जरुरी छ?
२. के यस व्यक्तिले साँची कै फिडब्याक मागेको हो?
३. के यो कुरामा फिडब्याक दिनको लागि म उचित व्यक्ति हुँ?
र फिडब्याकलाई अर्थपूर्ण बनाउन सोच्नु पर्ने तीनवटा दृष्टिकोणहरुलाई पनि मनन गरौँ:
१. उनीहरुलाई शशंकित हुन नदेउ।
२. ठिक समय, ठिक ठाउँ र ठिक प्रसङ्ग हो कि होइन, विचार गर।
३. तातोतातो फिडब्याकको सट्टा पर्याप्त समय लिएर मात्र फिडब्याक देउ।
ल अब, फिडब्याक दिने होइन त?